दफा ३१
प्रस्ताव माग गर्ने
  (१) दफा ३० बमोजिम संक्षिप्त सूची तयार भएपछि सार्वजनिक निकायले सो संक्षिप्त सूचीमा परेका आशयपत्रदाताहरुलाई प्रस्ताव सम्बन्धी कागजात तोकिए बमोजिम पठाई कम्तीमा तीस दिनको समय दिई निजहरुबाट प्रस्ताव माग गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रस्ताव सम्बन्धी कागजातमा देहायका कुराहरु उल्लेख गर्नु
पर्नेछः –
(क) सार्वजनिक निकायको नाम र ठेगाना,
(ख) खरिद गर्नु पर्ने सेवाको प्रकृति, सेवा प्रदान गर्नु पर्ने अवधि, स्थान, सेवाको कार्यक्षेत्रगत शर्तहरु, सम्पन्न गर्नु पर्ने कार्य र अपेक्षित परिणाम,
(ग) प्रस्ताव तयार गर्न प्रस्तावदाताहरुलाई निर्देशन,
(घ) प्राविधिक र आर्थिक प्रस्ताव अलग अलग खाममा राखी सिलबन्दी गरी प्रत्येक खामको बाहीर कुन प्रकारको प्रस्ताव हो सो स्पष्टरुपले उल्लेख गरी दुवै प्रस्तावलाई अर्को छुट्टै खाम बन्दी गरी माग गरिएको सेवाको विषय उल्लेख गर्नु पर्ने कुरा,
(ङ) प्राविधिक तथा आर्थिक मूल्याङ्कन भार,
(च) प्रस्ताव मूल्याङ्कन र तुलना गर्ने आधार र अङ्क भार,
(छ) खरिद सम्झौताका शर्तहरु,
(ज) प्रस्ताव पेश गर्नु पर्ने स्थान, मिति र समय,
(झ) प्रस्ताव छनौट गर्ने विधि,
(ञ) स्वार्थ बाझिने भएमा प्रस्ताव उपर कारबाही नहुने कुरा र भ्रष्टाचार वा जालसाजी गरेमा हुने कानूनी कारबाही सम्बन्धी जानकारी,
(ट) सार्वजनिक निकायले प्रस्ताव सम्बन्धी कारबाही गर्दा गरेको त्रुटि वा निर्णय विरुद्ध पुनरावलोकनका लागि प्रस्तावदाताले निवेदन दिन सक्ने व्यवस्था, र
(ठ) तोकिए बमोजिमका अन्य कुरा । (३) उपदफा (१) बमोजिमको प्रस्ताव सम्बन्धी कागजातमा उपदफा (२) को खण्ड (च) बमोजिम प्रस्ताव मूल्याङ्कन गर्ने आधारहरु उल्लेख गर्दा प्राविधिक प्रस्ताव मूल्याङ्कन गर्ने देहाय बमोजिमका कुनै वा सबै आधार आवश्यकता अनुसार खुलाउनु पर्नेछः –
(क) परामर्शदाताले गर्नु पर्ने काम सम्बन्धी परामर्शदाताको अनुभव,
(ख) परामर्शदाताले कार्य सम्पादन गर्ने प्रस्तावित तरिका (मेथोडोलोजी) को गुणस्तर,
(ग) प्रस्तावित मुख्य जनशक्तिको योग्यता,
(घ) ज्ञान तथा प्रविधि हस्तान्तरणको व्यवस्था,
(ङ) अन्तर्राष्ट्रिय स्तरको प्रस्तावको हकमा काम सम्पादन गर्न प्रस्तावित मुख्य नेपाली जनशक्तिको विवरण ।
(४) उपदफा (१) बमोजिमको प्रस्ताव सम्बन्धी कागजातमा उपदफा (२) को खण्ड (झ) बमोजिम प्रस्ताव छनौट गर्ने विधि उल्लेख गर्दा प्रस्तावको छनौट देहाय बमोजिमका विधिहरुमध्ये कुन विधिको आधारमा हुने हो सो व्यहोरा उल्लेख गर्नु पर्नेछः –
(क) गुणस्तर र लागत विधि,
(ख) गुणस्तर विधि,
(ग) निश्चित बजेट विधि, वा
(घ) न्यून लागत विधि ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि खरिद गर्नु पर्ने परामर्श सेवाको प्रकृति असामान्य रुपले जटिल भएको वा त्यस्तो सेवाले राष्ट्रिय अर्थतन्त्र वा भावी परियोजनामा उल्लेखनीय प्रभाव पार्न सक्ने अवस्थामा प्रस्तावको छनौट पूर्णतः गुणस्तर विधिको आधारमा तोकिए बमोजिम गर्न सकिनेछ ।